संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

पार्टी रुपान्तरणका लागि एकतावद्ध प्रयत्न आवश्यक छ - प्रवक्ता सापकोटा

काठमाडौं, मंसिर २४ - नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले पार्टी रुपान्तरणका लागि सवै एकजुट र क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

माओवादी पार्टी बिशेष रुपान्तरण अभियान अन्तर्गत शनिबार चन्द्रागिरि नगरपालिकाले आयोजना गरेका पार्टी स्कुलिङ तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रममा प्रवक्ता सापकोटाले पार्टी रुपान्तरणका लागि व्यक्ति आफैंमा पनि रूपान्तरित हुनुपर्ने बताउनुभएको हो । जनताको मुक्तिका लागि लडेको पार्टी माओवादी भएकाले अव पनि माओवादीले नै जनताको स्तर उकास्न अघि बढ्नुपर्नेमा प्रवक्ता सापकोटाको जोड छ । पार्टी रुपान्तरणका लागि एकतावद्ध प्रयत्न आवश्यक रहेको भन्दै प्रवक्ता सापकोटाले पार्टी नेतृत्वको गति अनुसार क्रियाशील रहन नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ । 

अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष सापकोटाले सरकारले गरेका राम्रा कामलाई जनताको तहमा पुर्याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । सरकार सुशासन, सामाजिक न्याय र समृद्धको अभियानमा रहेकोले सरकारको अभियानलाई पार्टी र जनताको उल्लेख्य साथ आवश्यक रहेको उहाँको भनाई छ । सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको स्पष्ट पार्नुभयो ।

 प्रवक्ता सापकोटाले भन्नुभयो , ‘जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूले उनलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ ।

भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताउनुभयो । नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उहाँले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै, प्रवक्ता सापकोटाले पछिल्लो समय विवादमा आएको एनसेल प्रकरणमा सरकारले सुझबुझ तवरले काम गरेको स्षप्ट पार्नुभयो ।एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ ।प्रवक्ता सापकोटाले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताउनुभएका प्रवक्ता सापकोटाले सरकारको गतिमा अन्य निकाय चल्न नसकेको टिप्पणी गर्नुभएको छ ।