संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

माओवादी केन्द्रद्वारा बाढीपहिरो पीडितको उद्धारका लागि एक हप्ते कार्ययोजना सार्वजनिक

काठमाडौं, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको कार्ययोजना सार्वजनिक गरेको  छ ।  आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका विभिन्न जन वर्गीय संगठन तथा प्रभावित जिल्लाका पार्टी नेतृत्व सम्मिलित बैठकले विपदपछि आवश्यक पर्ने सबै कामका लागि  कार्ययोजना निर्माण गरेको हो । गत असोज १० देखि १३ गतेसम्मको मनसुनी वर्षाका कारण भएको क्षति र विपदपछिको अवस्थालाई सम्बोधन गर्न पार्टीका जनसंगठनले आगामी एक हप्ताका लागि विशेष कार्ययोजना सार्वजनिक गरेको पार्टी सम्बद्ध विपद व्यवस्थापन विभागका इञ्चार्ज सूर्य सुवेदी ‘पथिक’ ले जानकारी दिनुभयो । बैठकले दशैँसम्मका सबै प्रकारका शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गर्दै तत्काल राहत, उद्धार, र पुनर्स्थापना कार्यमा केन्द्रित गर्ने घोषणा समेत गरेको छ । बैठकले विपद प्रभावित जिल्लाहरूमा जिल्लास्तरको पार्टी नेतृत्व र विपद व्यवस्थापन समिति अन्तर्गत जन वर्गीय संगठनहरूको संयुक्त कार्यदल बनाई परिचालन गर्ने निर्णय गरेको छ । उपत्यकाका तीन जिल्लामा विशेष प्रदेश, बागमती प्रदेश, र सम्पर्क समन्वय प्रदेशको कमाण्डमा उद्धार कार्यहरू सञ्चालन हुनेछ भने आश्विन १५ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  सहित अन्य केन्द्रीय पदाधिकारीहरूले विपद प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गर्नुहुने इन्चार्ज सुवेदीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँको बल्खु सुकुम्बासी बस्ती, भक्तपुरको मनहरा क्षेत्र, र ललितपुरका विभिन्न क्षेत्रमा निरीक्षण भ्रमण हुने कार्यतालिका रहेको छ ।
 यस्तै बैठकले देशभरका विपद् व्यवस्थापन र राहतका लागि समन्वय समिति गठन गरेको छ भने विपद व्यवस्थापन विभाग र प्रचार तथा प्रकाशन विभागको आपत्कालीन कार्य सञ्चालन डेस्क केन्द्रीय कार्यालयमा रहने गरी सञ्चालनमा आएको छ । यसले देशभरका विपदसम्बन्धी सूचना संकलन, उद्धार कार्यको समन्वय, प्रचारप्रसार, र सरकारका कार्यहरूको अनुगमन गर्ने छ । कार्य सञ्चालन डेस्कमा विपद व्यवस्थापन र प्रचार विभागका नेताहरूले नियमित रूपमा बाढीबाट भएको जनधनको क्षति, उद्धार, राहत, र पुनःस्थापनासम्बन्धी कामहरूको समन्वय गरी केन्द्रीय कार्यालयलाई नियमित रिपोर्ट दिनेछन् । पार्टीको प्रचार विभागले प्रत्येक दिन विपद व्यवस्थापन र राहत कार्यहरूको जानकारी सहितको बुलेटिन प्रकाशित गरी पार्टी प्रवक्ताको नामबाट सम्प्रेषण गर्नेछ । यस्तै बैठकले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य विभागको पहलमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । प्रभावित स्थानमा हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमलाई न्युनिकरण गर्न तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्ने बिभागको तयारी छ ।
यसैगरी बैठकले विपदको समयमा नेपाल सरकारबाट भएका कमी कमजोरी र भविष्यमा आवश्यक नीतिगत सुधारबारे सुझाव पेश गर्न विपदविदहरू सम्मिलित कार्यदल गठन गरेको  छ । विज्ञहरू कमल क्षेत्री, सुनिल शाक्य र मुक्ति पोखरेल रहनुभएको कार्यदलले तोकिएको समयभित्र सरकारलाई बुझाउने ज्ञापनपत्रको मस्यौदा तयार गर्नेछ । 
हालै राजधानी लगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारणले विभिन्न भागमा बाढी पहिरो र डुबानमा परी झण्डै २०० जना भन्दा बढी नागरिकहरूको निधन भएको छ भने अझै पनि दर्जनौं सङ्ख्यामा व्यक्तिहरू हराइरहेका छन् । यस्तै कयौं घाइते भएका छन् भने अधिकांश नदी किनारका घर बस्तिहरू खण्डहरमा परिणत भएको छ  । यस्तो अवस्थामा पीडित नागरिकहरूको उद्धारमा खटिन माओवादी केन्द्रले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस्तै माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोबल आईएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको छ । साथै पार्टीले जबस तथा मोर्चा हरू सहित पार्टी संगठनको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिनको लागि पार्टीले विशेष परिपत्र समेत जारी गरिसकेको छ । पार्टी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकको निर्णय अनुसार पार्टीका विभिन्न समिति तथा जनसंगठनहरुले उद्धार र  राहतका काममा जुटिसकेका छन् ।