संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारी भइरहेको छः अध्यक्ष प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । बिहिबार माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियानमा सरकार  निरन्तर लागिपरेको प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले  भन्नुभयो, 'सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन','भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।'  भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

यस्तै अध्यक्ष प्रचण्डले 'नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्याइएको बताउनुभयो । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचार विरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन', अध्यक्ष प्रचण्डले भन्नुभयो, 'पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।' मिटरब्याजी र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको  जानकारी दिनुभयो ।