संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

सुशासनको अभियान 'महान् अभियान' हो - देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सुशासनको अभियान इतिहासकै महान् अभियान भएको बताउनु भएको छ।

कास्कीको पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासचिव गुरुङले सरकारले चालेको कदममा सबैको साथ र सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो।

अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको बताउँदै उहाँले नेपाली जनताका दशकैपिच्छेको विद्रोहपछि अब शान्ति, समृद्धि, राष्ट्रियता, स्वाधीनता र प्रगतिको पक्षमा रहेको बताउनु भयो। देशभित्र द्वन्द्व सिर्जना भए देशकै स्वाधीनता सङ्कटमा पर्न सक्ने उहाँको भनाई थियो। ‘अहिले सरकारले गरेका काममा जनताको ऐक्यबद्धता देखिएको छ। ’

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसहित शान्ति प्रक्रियाका बाँकी काम चाँडै सकिने अवस्था बनेको भन्दै ‘यसअघि अड्केको काम अब कुनै गडबडी नभए दलहरुबीच मोटामोटी सहमति भइसकेकाे उहाँले बताउनु भयाे।

अब हुने हिउँदे अधिवेशनबाट विधेयक पारितसहित शान्ति प्रक्रियाका बाँकी काम सक्न लागि परेको उहाँले बताउनु भयो। विभिन्न अनियमितता र भ्रष्टाचारका काण्डहरुको छानबिन जारी रहेको भन्दै उहाँले यो अभियान निरन्तर हुने जनाउनु भयो। विद्यमान संयन्त्र र ऐनहरुमार्फत् सुशासनमा उल्खेनीय काम एकै पटक गर्न नसकिँदै दाबी गर्दै गुरुङले यो अभियानले कसैमाथि पक्षपात नगर्ने जिकिर गर्नुभयाे।

‘सुशासनको अभियान महान् अभियान हो। यसमा कोही मान्छे, पार्टी भनेर पक्षपात गरिएको छैन। विपक्षी लगाएको पक्षपातको आरोप कामबाटै खण्डित भएको छ,’ भन्दै उहाँले सरकारको प्रभावकारी समन्वय र निर्देशनका कारण एकै दिनमा भूकम्पका पीडितको उद्धार सकिएको उहाँको भनाइ छ।

माओवादीले चलाएको ‘जनतासँग माओवादी अभियान’ भूकम्प आएको क्षेत्रमा उद्धार र राहतमा केन्द्रीत हुने र अन्य क्षेत्रमा साङ्गीतिक कार्यक्रमलाई रोकेर अरु कार्यक्रम निरन्तर हुने बताउनु भयाे।