संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताउनुभएको छ ।

शनिवार  पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

 “पार्टी सरकारमा हुँदा सुशासन , सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका बिरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् । बजेट निर्माणमा पनि उत्पादनमा जोड दिन खोजिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,” उहाँले भन्नुभयो।

अध्यक्ष प्रचण्डले भन्नुभयो  “संसदमै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुपर्यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहाले र मैले त्यसबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ । पछि त काले–काले मिलेर खाऊँ भाले भयो । जनताले पनि त्यही ढंगले बुझेका छन् ।”

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनतामा जाने बताउनुभयो । उहाँले भन्नुभयो–“पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौँ भनेर खुलेर विषय राखियो। कतिपय कमरेडहरू त झण्डै दुई घण्टा नै बोल्नुभयो।”

स्थायी समितिको बैठकमा छलफलको क्रममा नेता जनार्दन शर्माले अरूले मुखले मत राखे जस्तै आफूले लिखित रूपमा राखेको तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको बताउनुभयो । 

स्थायी समिति बैठकमा उपमहासचिवजनार्दन शर्मा ‘प्रभाकर’ ले राखेको दस्ताबेज फरक मत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रभाकरजीले नेतृत्वलाई स्थापित गर्नका लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । बिहान मात्रै पनि उहाँ मेरोमा आउनुभएको थियो । उहाँले त्यो भन्नुभएको छ । उहाँको दस्तावेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।”

पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउँदै उहाँले थप्नुभयो–“पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिति बैठकमा आउँदा त्यो क्लिएर भएको छ।  त्यो आशंका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लिएर भए हुन्छ।”