संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

प्रचारको शैलीलाई वैज्ञानिक र बस्तुवादी बनाउनुपर्छ - प्रवक्ता सापकोटा

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको प्रचार तथा प्रकाशन विभागलाई युग सुहाउँदो ढंगले समय सापेक्ष बनाइने बताउनुभएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी प्रचार तथा प्रकाशनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय प्रचार विभागका इन्चार्ज समेत रहनुभएका उपाध्यक्ष सापकोटाले प्रचार प्रसारमा डिजिटल प्रविधिको प्रयोगमा जोड दिनुभएको हो ।  प्रचार  विभाग गठन भए यता हालसम्म भएका कामको रिपोर्टिङको समीक्षा गर्दै प्रवक्ता सापकोटाले प्रचारप्रसारको शैलीमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय प्रचार - प्रसारका लागि आधुनिक उपकरण सहीत नयाँ आविष्कार भएकाले त्यसबारे आवश्यक तालिम तथा ज्ञानको बिस्तार गर्न उहाँको जोड छ । कार्यक्रममा विभागका सदस्यलाई प्रशिक्षण दिनुहुँदै प्रवक्ता सापकोटाले व्यावसायिक भएर वैज्ञानिक तवरले आफूलाई तयार पार्न आग्रह समेत गर्नुभयो।                                                    

बैठकमा प्रवक्ता सापकोटाले  प्रचार विभागले गत १६ भदौ देखि पार्टी सुदृढीकरणका लागि वडा तहसम्म सञ्चालन भएका रुपान्तरण अभियानका सामग्री संकलन गरेर बुलेटिन प्रकाशन गर्न लागेको जानकारी गराउनुभएको छ ।   यस्तै, खोज अनुसन्धान मूलक समाचार तथा पार्टी आन्दोलनसँग जोडिएका  प्रचार सामग्री प्रकाशन/ प्रशारण गर्न प्रेस सेन्टर लगायतका विभागमा आबद्ध मोर्चा जनसंगठनहरुलाई प्रवक्ता सापकोटाले आग्रह गर्नुभएको छ  । पार्टीको प्रचार मोर्चालाई बलियो बनाई आमजनतासम्म सरकार र पार्टीले गरेका राम्रो कामहरूको प्रचार गर्ने नीति लिइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

यस्तै, बैठकमा प्रचार विभागका सचिव गोविन्द आचार्यले अहिलेको अवस्थामा कस्तो मोडलको प्रचार शैली अपनाउने भन्ने बारे पार्टी स्पष्ट हुनुपर्ने बताउनुभएको थियो । अन्य देशका शक्तिशाली पार्टीले अपनाएका प्रचार शैली, कम्युनिष्ट देश र तनका नेताले अपनाएका शैली र नेपालका अन्य प्रतिष्पर्धि दलले  अभ्यास गरेका प्रचार शैलीको समेत समीक्षा गरेर पार्टीले आफ्नो मौलिक प्रचार शैली आत्मसाथ गर्नुपर्ने उहाँको भनाई थियो । यस्तै सचिव आचार्यले पछिल्लो बिकशित र आधुनिक प्रचार शैली र सामाजिक सञ्जाल लगायतका प्रचार माध्यमको प्रयोगका लागि समयानुकूल तालिम तथा ज्ञानको अभाव रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा 'जुगल' ले पार्टीको प्रचार विभागले सरकार र पार्टीको कामलाई जनतासम्म लैजान सक्नुपर्ने बताउनुभएको थियो । माओवादीको नेतृत्वमा रहेको सरकारले गरेका राम्रा कामको प्रचार विभाग लगायतका मोर्चाले सशक्त भूमिका खेल्नुपर्ने उहाँको भनाई  छ । प्रचार विभागको तेस्रो पूर्ण बैठकमा केन्द्रीय प्रचार विभागसँगै प्रदेश प्रचार विभागका नेतृत्व र प्रेस सेन्टरमा आबद्ध नेताहरुले हालसम्मको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । यस्तै प्रचार विभागले गर्नुपर्ने काम लगायत सांगठनिक तथा आगामी कार्यक्रममा विषयमा छलफल समेत भएको छ । बैठकले यसअघिका केही निर्णय कार्यान्वयन गर्ने र छिट्दै सरकारले गरेका काम र पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानको रिपोर्ट कार्ड प्रकाशन गर्ने निर्णय गरेको छ ।