संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

जलवायु परिवर्तनका असरबारे विश्वलाई ध्यानाकर्षण गराउने छौं -अध्यक्ष प्रचण्ड

युएई । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउनुभएको छ।

कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुग्नुभएका प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने जनाउनु भयो। सम्मेलनमा माग्नेका रुपमा नभएर अधिकारका रुपमा आफ्ना एजेण्डा राख्न् तयारीका साथ आफू सम्मेलनमा आएको  उहाँले बताउनु भयो। 

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले कोप २८ मा जलवायु परिवर्तनबाट नेपाललाई असर परेको असरको क्षतिपूर्तिको रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने बताउनु भयो।  

दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भैरहेको जानकारी दिनुभयो। विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बिदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताउनु भयो। 

कार्यक्रममा युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएइ र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।